बर्दिया, साउन २३ – बर्दियामा विषालु सर्पले डसेका बिरामी संख्या बढदै गएको छ । लामो समयसम्म वर्षा नहुँदा र निकुञ्ज आसपासका सामुदायिक वनमा आगलागी भएपछि वन छेउ नजिकैका गाउँघरमा विषालु सर्पहरु देखिन थालेका छन् । निकुञ्ज र सामुदायिक वन आसपास गाउँका घर गोठमा स्थानीय भाषामा फेटारा, डुम, महेर, गरैच र धमला (गोमन, राजगोमन, करेत, साखड) सर्पहरु फेला परेको स्थानीयबासिन्दाले बताएका छन् ।
बर्दियाको गुलरिया, राजापुर, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिकाका नेउलापुर, शिवपुर, बगनाह, सूर्यपटुवा, ठाकुरद्वारा, सानोश्री, ढोढरी लगायतका गाउँमा घरगोठ भित्र विषालु सर्प देखिने गरेको छ । असार, साउन र भदौमा विषालु सर्प जमिन बाहिर निस्कने भएकाले योबेला निकै जोखिम हुने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका किटजन्य रोग नियन्त्रण अधिकृत बालकृष्ण शर्माले बताउनुभयो ।
घरगोठ, आँगन सफा राख्न, अँध्यारोमा घर बाहिर निस्कँदा उज्यालो बालेर हिँड्न, झ्यालमा जाली लगाउन र झुल हालेर मात्र सुत्न उहाँको सुझाव छ । जुनसुकै सर्पले डसेमा झारफुकमा नलाग्न र घाउ नबिगारी जिल्ला अस्पताल वा सेनाको सर्पदंश केन्द्रमा लैजान जिल्ला अस्पताल बर्दियाले अनुरोध गरेको छ ।
सेनाको सर्पदंश केन्द्रमा १६८ जनाको उपचार
बर्दिया राष्टिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिकाको सैनवारमा रहेको सर्पदंश उपचार केन्द्रले हालसम्म १ सय ६८ जना सर्पदंशका बिरामीको उपचार भएको छ ।
यसैगरी बिच्छीले टोकेका ८१, माहुरीले टोकेका ११ जनाको उपचार भएको निकुञ्ज सुरक्षार्थ शिव दल गणको सर्प दंश केन्द्रले जनाएको छ । केन्द्र स्थापना भएदेखि अहिलेसम्म सामान्य बिरामीहरुको पनि उपचार गराएर लाभ लिएका छन । तीन वर्षको अवधीमा २ हजार ३ सय ५४ महिला र २ हजार ५९ पुरुषको पनि स्वाथ्य उपचार गरेको केन्द्रले जनाएको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणको मातहतमा रहेको सेनाको ब्यारेक भित्रको सर्पदंश उपचार केन्द्र सैनवारमा यसवर्ष साढे ३ महिना भित्र ३० जना सर्पदंशका बिरामीको उपचार भएको छ ।
गाउँघरमा वर्षाको बेला एम्बुलेन्स समयमै पुग्न नसक्ने भएकाले मोवाइल सेवाका रुपमा मोटर साईकलमा भएपनि सर्पदंशका बिरामीलाई समयमै केन्द्रमा ल्याउन सर्पदंश केन्द्र शिवदल गणका सेनाले आग्रह गरेका छन ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.