काठमाडौं, साउन २३ । ललितपुरको कुसुन्तीमा प्रहरीको गोली लागेर सोमबार एकजनाको मृत्यु भएको छ । मृतक प्रवीण खत्री रहेको खुलासा भएको छ ।

लागुऔषध तस्कर भएको सूचनाको आधारमा महानगरीय अपराध अनुसन्धान ब्युरोको टोली सोमबार दिउँसो उनको घर खानतलासी गर्न गएको थियो ।
प्रहरीलाई देखेपछि घरको छतबाट हामफालेर भाग्दै केही पर पुगेका प्रवीणमाथि प्रहरीले चलाएको गोली लागेको थियो ।
प्रवीणले घरबाटै दुईओटा पेस्तोलले प्रहरीलाई ताक्दै भागेको र आफैंलाईसमेत ताकेको दाबी प्रहरीले गरेको छ ।
दाहिने कन्चटमा गोली लागेका २४ वर्षीय प्रवीणलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएपछि उनको अस्पतालमा मृत्यु भएको हो ।
मृतक प्रवीणका पिताले भने आफ्नो छोरामाथि शंका भए पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा प्रहरीले सोझै गोली हानेको आरोप लगाएका छन् ।
छिमेकीहरुले भने प्रवीण सानै उमेरदेखि लागुऔषधको लतमा फसेको र त्यसको असर आफ्ना छोराछोरीहरुमासमेत पर्ने चिन्ता आफूहरुलाई रहेको बताएका छन् ।
प्रवीणबाट बरामद गरिएको पेस्तोल अनुसन्धानका लागि महानगरीय अपराध अनुसन्धान महाशाखामा राखिएको छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.