
काठमाडौं, ७ साउन । काँग्रेसभित्र मन्त्री बन्नेको सूची लामै छ । तर, एकपटक मन्त्री भइसकेका गगन थापाले फेरि मन्त्री हुने इच्छा देखाएपछि अर्को समस्या उत्पन्न भएको छ ।
गएको महाधिवेशनमा आफ्नो प्यानलबाट महासचिव उठेका गगन थापाका कारण काँग्रेस नेता कृष्ण सिटौला सबैभन्दा बढी तनावमा छन् । कारण, गगन थापाले फेरि मन्त्रीमा दोहोरिन इच्छा देखाइरहेका छन् । गगनले आफू नै हुनुपर्ने भनेर दबाब दिएपछि गगनलाई बोक्ने कि भीमसेनदास प्रधानलाई बोक्ने भन्ने तनावमा सिटौला छन् । सिटौला पक्षबाट मन्त्री बन्ने तयारी गरिरहेका प्रधानलाई जसरी पनि रोक्नुपर्ने पक्षमा गगन थापाहरु लागेका छन् । थापाले उनको नाममा सहमति जनाएका छैनन् ।
भीमसेनले काम गर्न नसक्ने जिकिर गर्दै थापाले आफू मन्त्री बनेर गए राम्रो काम गरेर चुनावमा पार्टीलाई राम्रो नतिजा दिलाउनेसम्म बचन पार्टी नेतृत्वलाई दिएका छन् । माओवादीले जनार्दन शर्मालाई दोहोर्याएपछि गगनको आत्मबल थप बलियो भएको हो । यद्यपि स्वास्थ्य मन्त्री हुँदा काम भन्दा हल्ला बढी गरेको आरोप काँग्रेसकै युवा नेताहरुले गगनलाई लगाउने गरेका छन् ।
काँग्रेसभित्रका गुट उपगुटलाई व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सबैभन्दा बढी समस्या पार्टी सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच देखिएको छ ।
बरिष्ठ नेता पौडेलले आफ्नो पक्षलाई महत्वपूर्ण मन्त्रालय नदिए मन्त्री बन्नेहरुको नाम नै नदिने धम्की दिएपछि प्रधानमन्त्री देउवा झस्किएका छन् । स्रोतका अनुसार पौडेलले भौतिक मन्त्रालय, सूचना तथा सञ्चार र वाणिज्य मन्त्रालय लगायतका महत्वपूर्ण मन्त्रालय मागेका थिए । तर देउवा भने पौडेलले मागे अनुसार मालदार मन्त्रालय दिने पक्षमा देखिएका छैनन् ।
पौडेलले अहिले मन्त्रालयको संख्यामा समेत अड्को थापिरहेका छन् । सुरुमा पौडेल पक्षधरलाई दुई वटा मन्त्रालय दिने सहमति भएको थियो । तर पछि उनले तीन मन्त्रालय पार्टी सभापति देउवासँग आग्रह गरे । देउवाले पौडेल पक्षधरलाई जसरीपनि तीन मन्त्रालय दिने अन्तिम तयारी गरिरहेको बेला पौडेलले त्यसमा पनि भाउ खोजेर चार मन्त्रालय माग गरे । तर, देउवा कुनैपनि हालतमा चार मन्त्रालय नदिने उद्धघोष गरिसकेका छन् । यसबाट पौडेल पक्षधर रुष्ट छ ।
प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार आउने मंगलबार वा बुधबारभित्रै मन्त्रिमण्डल विस्तार हुने बुझिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले तत्काल सरकार विस्तार गर्न दबाब दिईरहेको छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.