राजविराज, १९ साउन । मधेशको राजनीतिक विषयवस्तुमा निर्माण भएको ‘मधेशी पुत्र’ चलचित्रको सफलतापछि ‘मधेशी पुत्र–२’ को बुधवार राजविराजमा एक कार्यक्रमका बीच शुभ मुहुर्त गरिएको छ ।
वैष्णवी काली मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमका बीच मधेश आन्दोलनका शहिद दिलिप कुमार साहकी धर्मपत्नी पूनम साहले रिबन काटेर उक्त चलचित्रको शुभारम्भ गरेका हुन् । अनुरागी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रको शुभमुहुर्तका अवसरमा बोल्दै प्रमुख अतिथी शहिद पत्नी साहले मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहिदहरुको सपना साकार पार्न राजनीतिक दलहरुलाई जिम्मेवार बन्न आग्रह गरे । अधिकार प्राप्तिको आन्दोलनको मागप्रति अझैं वेवास्ता भईरहेको भन्दै अविलम्व मधेशी जनताको माग सम्वोधन गर्न उनले आग्रह गरिन् ।
मधेश आन्दोलन र मधेशको पृष्ठभूमीमा निर्माण भएको ‘मधेशीपुत्र’को सफलतापछि ‘मधेशीपुत्र–२’ को समेत निर्माण हुनलागेकोले सम्पूर्ण युनिटलाई उनले धन्यवाद दिईन् । फिल्मले मधेशको वास्तविक अवस्था चित्रण गर्ने विश्वास व्यक्त गर्दै शहिद पत्नी साहले भनिन् ‘मधेशी पुत्र–२’ले देशको सरकार र मधेशी जनताको सोचमा सकारात्मक परिवर्तन ल्याउन सफल होस् ।’कार्यक्रममा मधेशी पुत्र–२ का निर्माता उदित नारायण साह (अरुण)ले मधेशको विषयवस्तुलाई चलचित्रको मुख्य कथावस्तु बनाईएको जानकारी दिएका छन् ।
‘मधेशी पुत्र’को सफलता पश्चात आफुहरुले ‘मधेशी पुत्र–२’ निर्माण गर्न लागेको बताउँदै उक्त चलचित्र पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरे ।चलचित्रको कथा लेखक एवम् निर्देशक निराजन मेहता (मन्जित) का अनुसार नेपाली र भोजपुरी दुई भाषा निर्माण हुन लागेको ‘मधेशी पुत्र–२’ मा द्वन्द्व एन.बी. महर्जन, छायाङ्कन रवि कोइराला, सङ्गीत रोहित, प्रमोद र भागवत मण्डलको रहेको छ । चलचित्रको मुख्य कलाकारमा निराजन मेहता, अनिल साह, ईन्द्रनारायण साह, निशा अधिकारी, निशा घिमिरे, सचेन्द्र सरदार, मनोज राउत, ध्रुव कोइरालालगायतका छन् । उक्त चलचित्रको गीतहरुमा भागवत मण्डल, अन्जु यादव, सोनी र पारसमणीको मुख्य स्वर रहेको छ ।
चलचित्रको शुभ मुहुर्तका अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, कान्तिपुर दैनिकका अवधेश कुमार झा, अन्नपूर्ण पोष्टका सम्वाददता मनोहर कुमार पोखरेल, कान्तिपुर टेलिभिजनका सम्वाददाता आर. एन. विश्वास, लेखिका करुणा झा, पत्रकार नविन नरसिंह नेपालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार चन्दन यादवले गरे ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.