एम के मैथील जनकपुरधाम, साउन ११ । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय संयोजक डा. सीके राउतले आगामी ६ वर्षभित्रै मधेश स्वतन्त्र राष्ट्र हुने प्रवल सम्भावना रहेको दाबी गरेका छन् । उनले ६ वर्षभन्दा पहिला पनि मधेश राष्ट्र स्वतन्त्र हुनसक्ने कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
मधेश स्वतन्त्र राष्ट्र हुनु अगाडि १० लाख मधेशीहरुका लागि रोजगारी परियोजनासमेत डा. राउतले सार्वजनिक गरेका छन् । मधेश एउटा स्वतन्त्र राष्ट्र हुने ठोकुवा गर्दै त्यसका लागि पहिलेदेखि नै विशाल जनशक्ति तयार गर्न लागेको जनाएका छन् ।
उनले १०औं लाखको संख्यामा मधेशमा रोजगारीको सिर्जना हुने दाबी गरेका छन् । त्यो आवश्यकता पूरा गर्नका लागि पहिलेदेखि नै तयारीस्वरुप रोजगारीका लागि फाराम भर्नसमेत आह्वान गरेका छन् ।
जनशक्ति खोजी गरेर तयार गरी राखेपछि मधेश स्वतन्त्र हुने बित्तिकै उनीहरुलाई काममा लगाइने डा. राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन फारम पनि सार्वजनिक गरेका छन् ।
‘प्रथम १० लाख मधेशी रोजगारी परियोजना’ को नाम दिइ मधेशका कतिपय ठाउँमा सर्वेक्षणसमेत थालिएको उनले जनाएका छन् । सर्वेक्षणमा देश–विदेशका सम्पूर्ण मधेशी जनता रोजगारीका लागि आफ्ना आवेदन दिएर आफ्नो भविष्य सुरक्षित गर्न आह्वानसमेत गरेका छन् ।
उनले हाल सरकारी वा अन्य रोजगारीमा रहेका मधेशीहरु सेना, प्रहरी, वैदेशिक रोजगारी, स्वरोजगारी वा व्यवसाय गर्ने मधेशीहरुले पनि फारम भर्नुपर्ने आग्रह गरेका छन् ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.