प्रेम गरेको भन्दै मधेसमा युवायुवतीलाई कुटपिट


काठमाडौं, ६ साउन । प्रेम सम्बन्धकै कारण रूपन्देहीको मर्चवारका २ युवायुवती निर्घात कुटिएका छन् ।

सम्मरीमाई गाउँपालिका ६ डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । मीना १८ र दिनेश २१ वर्षका हुन् ।

विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए ।

घटनामा छिमेकी र स्थानीय प्रतिनिधि मिलेर युवकको परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् ।

प्रेम सम्बन्धको कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएकाले दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना लिएको स्थानीयले बताए । घटनापछि दुवैजना आ–आफ्नो घरमा छन् ।

प्रहरीले समेत घटना गुपचुप राखेर मिलाएका बेला स्थानीय एक युवकले बिहीबार भिडियो सार्वजनिक गरेपछि बल्ल बाहिर आएको हो ।

स्थानीय रमेश कोहारका अनुसार मीना र दिनेश दुवै विवाहित हुन् । बाल विवाह भएकी मीना गौना नगरेका कारण माइतैमा बसेकी थिइन् । उनीहरु पछिल्लो समय नजिकिएका थिए ।

दुईको प्रेम सम्बन्ध रहेको शंकामा मीनाको परिवारले दिनेश घर आएको समयमा दिनेशलाई नियन्त्रणमा लिएका थिए। उनलाई कुटपिट गर्न थालेपछि मीना बचाउन गइन्। त्यही बेला परिवारका सदस्यले मीनालाई पनि लछारपछार गरेका थिए।

एक युवाले मौखिक जानाकारी गराएपछि  प्रहरीले कुटपिट गर्ने युवतीका बुवा इन्नरलाई पक्राउ गरेर एक दिन थुनामा राखेको थियो। २० गते मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतले अहिरलाई छुटाएका थिए।

रुपन्देहीका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले भने बिगतमा मानसिक रोगको औषधी खाएका अहिर बेहोस हुन लागेपछि प्रहरीले छाडिदिएको बताए। स्थानीय लक्ष्मी यादवले भने आफूहरुले पटक पटक छानबिनमा आग्रह गरेपनि प्रहरीले महिलाको घटना भनेर बेवास्था गरेको बताइन्।

भिडियो बाहिर आएपछि बल्ल रुपन्देही प्रहरीले घटनामा चासो दिएको छ। ‘उतिबेला युवकको बारेमा कुरै आएन। युवतीलाई आफ्नै बाबुले कुटेको उजुरी मात्रै आयो। त्यति ठूलो लागेन’ प्रहरी नायव उपरीक्षक पाण्डेले भने ‘अहिले बल्ल अमानवीय घटना र युवक समेत कुटिएको बारेमा थाहा भयो। अब तत्काल पीडकलाई पक्राउ गरी जिल्लाबाटै घटना अनुसन्धान हुनेछ।’

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.