आज ३५ औँ बिपी स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३५ औँ स्मृति दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ। 

राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो। सुवर्णशम्शेरलगायत राणा परिवारबाटै विद्रोह गरी विसं २००५ मा स्थापना भएको नेपाली प्रजातन्त्र काँग्रेससँग २००६ साल चैत २६ गते एकता भएपछि सशस्त्र क्रान्तिको घोषणा भयो। 

यही क्रान्तिले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गर्यो। यसपछि बनेको राणा काँग्रेस सरकारमा कोइराला गृहमन्त्री बने। विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। 

कोइरालाको जननिर्वाचित सरकारले १८ महिना पनि बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका भरमा सत्ताच्युत गरी कोइरालालगायत नेतालाई कारागार हालियो। विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो। उनी २०१७ सालपछिं आठ वर्ष र पछि ०३३ सालमा दुई वर्ष कारागारमा रहेका थिए।

विसं १९९२ मा ‘चन्द्रवदन’ कथामार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका कोइरालाको दोषी चश्मा कथासङ्ग्रह लगायत कृति प्रकाशित छन्। सुन्दरीजल बन्दीगृहमा एक दर्जन बढी साहित्यिक कृतिको रचना गरे। बिपीले कारागारमा रचना गरेका साहित्यिक कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह तथा ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’ र ‘हिटलर र यहुदी’ उपन्यास तथा ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘आत्मवृत्तान्त’ आत्मजीवनीलगायत छन्। 

बिपीले प्रजातन्त्र स्थापना र पुनःस्थापनामा पुर्याएका योगदान, जेल जीवनलगायत विषयमा उनीसँग गरिएको कुराकानीमा आधारित ‘आत्मवृतान्त’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई भारत निर्वासनबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगेपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ लगायत पुस्तक पनि प्रसिद्ध छन्। 

कोइरालालाई विसं २०२५ मा सुन्दरीजल बन्दीगृहबाट उपचारका लागि रिहा गरिएको थियो। रिहा भएपछि पनि उनी प्रजातन्त्र पुनःस्थापनाका लागि पुनःसक्रिय भएका थिए। कारागारंबाट रिहा भएपछि भारत निर्वासनमा बसेर क्रियाशील कोइराला विसं २०३३ मा राष्ट्रियतामाथि खतराको बादल मडारिएको ठहर गर्दै आठ मृत्यु दण्डका मुद्दाको पर्वाह नगरी एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किए।

स्वदेश फर्किएर मृत्युदण्डका मुद्दाको सामना गर्दैै कोइरालाले बहुदलीय व्यवस्था र सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थाबीच जनमत संग्रह गराउन नेतृत्वदायी भूमिका निर्वाह गरे। जनमत संग्रहमा विभिन्न हत्कण्डा अपनाई बहुदल पक्षलाई हराइए पनि उनले परिणाम स्वीकारे। प्रजातन्त्र पुनःस्थापनामा सक्रिय रहँदारहँदै २०३९ साल साउन ६ अर्थात् आजकै दिन उनको घाँटीको अर्बुद रोगबाट निधन भयो। 

कोइराला प्रजातान्त्रिक समाजवादका व्याख्याताका साथै ‘सोसलिस्ट इन्टरनेशनल’ को उपाध्यक्षका रुपमा समेत सक्रिय थिए। उनको स्मृति दिवस विभिन्न संस्थाले विविध कार्यक्रम गरी आज मनाउँदैछन्। रासस 

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.