एकै बर्षमा ५० हजार विद्यार्थी बिदेश तिर

कुन महिनामा कति ? : ०७३ साउनमा २९८६, भदौमा ४४१७, असोजमा २६६८, कात्तिकमा २२३७, मंसिरमा ४४२९, पुसमा ३८७५, माघमा ३४९६, फागुनमा ६९९५, चैतमा ४७११ र ०७४ वैशाखमा ३५६६, जेठमा ६७७६, असारमा ४४१३ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

विद्यार्थीको भिसा आवेदनमा मात्रै डेढ अर्ब बिदेसियो

एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३÷७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ । गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० जना बढी विद्यार्थीले यस्तो पत्र लिएका छन् । अहिलेसम्म यो पत्रका लागि यति धेरै आवेदन परेको थिएन ।

यस्तो पत्र लिने ५० हजार ६ सय ५९ जनामध्ये झन्डै आधा अर्थात् २४ हजार दुई सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका छन् । अस्ट्रेलिया जान चाहने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएर मात्र भिसा आवेदन गर्ने व्यवस्था छ । अस्ट्रेलियाका लागि भिसा आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् करिब ४५ हजार रुपैयाँ शुल्क लाग्छ । वर्षको अघिल्लो ११ महिनामा अस्ट्रेलियाका लागि भिसा भने ११ हजार ६ सय २८ जनाले आवेदन दिएका थिए । यसरी अस्ट्रेलियाको मात्रै हिसाब गर्दा करिब एक अर्ब बिदेसिएको छ । तर, भिसा भने ९ हजार चार सय ६२ ले प्राप्त गरेका छन् ।

दोस्रो आकर्षक गन्तव्य जापानका लागि १० हजार चार सय १६ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जापानमा भिसा लागिसकेपछि मात्र प्रतिविद्यार्थी दुई हजार नौ सय १० रुपैयाँ शुल्क लाग्छ । जापानका लागि ९५ प्रतिशत आवेदन सफल रहेको कन्सल्टेन्सी व्यवसायीको भनाइ छ । १० हजार विद्यार्थीको भिसा लाग्दा २९ करोडको हारहारीमा पैसा विदेश गएको छ ।

अमेरिकामा भने भिसा लागिसकेपछि नो अब्जेक्सन लेटर लिने व्यवस्था छ । युएसएमा आवेदन शुल्क १६०, सेभिस शुल्क २००, भिसा ग्यारेन्टी भएपछि थप २०० गरी ५६० अमेरिकी डलर लाग्छ । यसरी अमेरिकाको भिसा प्रक्रियामा एक नेपाली विद्यार्थीको ५८ हजार रुपैयाँ खर्च हुने गरेको छ । गत आर्थिक वर्षमा तीन हजार ४८३ जनाले अमेरिकाका लागि नो अब्जेक्सन लेटर लगेका छन् । ती विद्यार्थीको भिसाका लागि मात्र २० करोड २० लाखको हारहारीमा रकम बाहिरिएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले पढाइसँगै रोजगारीका अवसर पाइने भएकाले वैदेशिक अध्ययनमा आकर्षण बढिरहेको बताए । अस्ट्रेलिया, जापान र अमेरिका जान चाहनेले भिसा आवेदनबापत औसतमा ३० हजार रुपैयाँ बुझाउँछन् । यसरी पनि नेपाली विद्यार्थीको भिसाकै लागि एक वर्षमा एक अर्ब ५२ करोडको हारहारीमा बिदेसिएको छ ।

शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर शाखाका अनुसार एक वर्षको अवधिमा ७३ देशका लागि नेपाली विद्यार्थीले पत्र लगेका छन् । भारत जाने विद्यार्थी धेरै भए पनि नो अब्जेक्सन लिनेको संख्या भने कम छ । एक वर्षमा दुई हजार दुई सय नौजनाले भारतका लागि नो अब्जेक्सन लेटर लगेका छन् ।

एक–एकजना मात्र विद्यार्थी जाने १२ देश
आर्थिक वर्ष ०७३-७४ मा १२ देशमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । कतिपय गृहयुद्ध भइरहेका देशमा पनि नेपाली विद्यार्थी अध्ययनका नाममा पुगेका छन् । बेलारुस, गुयना, साउदी अरेबिया, स्विट्जरल्यान्ड, स्लोभाकिया, श्रीलंका, रिपब्लिक अफ पोल्यान्ड, होल्यान्ड, भियतनाम, अर्मेनिया, रोमानिया र बहमासमा एक–एकजना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लगेका छन् ।

विद्यार्थीबाट नेपाललाई १० करोड राजस्व
विदेश अध्ययन गर्न चाहने विद्यार्थीबाट नेपाल सरकारले पनि एक वर्षमा १० करोडभन्दा बढी राजस्व उठाएको छ । ५० हजार ६ सय ५९ विद्यार्थीबाट दुई हजार रुपैयाँ उठाउँदा गत आर्थिक वर्षमा १० करोड १३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

किन बढ्दै छन् विदेश जाने विद्यार्थी ?
नेपाली विद्यार्थीको विदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । सो विषयमा अनौपचारिक विश्लेषण मात्र हुने गरेको छ । शिक्षा मन्त्रालयका नो अब्जेक्सन लेटर शाखा प्रमुख डिल्लीश्वर प्रधानले पछिल्लो समय विदेश अध्ययनमा जान चाहनेको संख्या धेरै बढे पनि कारणबारे औपचारिक अध्ययन नभएको बताए । उनका अनुसार विदेश अध्ययनमा आकर्षण बढ्नुका ३ कारण :

-विदेशी डिग्री लिएमा अन्तर्राष्ट्रिय श्रमबजारमा पनि बिक्ने अपेक्षा

-विदेशमा पढ्दै आफ्नो खर्च जुटाउन र बचाउन पनि सकिने अवस्था

-छिमेकी र नातेदारका छोराछोरी विदेशमा पढ्न जाँदा पर्न मनोवैज्ञानिक दबाबले आफ्ना छोराछोरी पनि पठाउने प्रवृत्ति

 

यसकारण बढ्यो विदेश आकर्षण 
प्रा.डा. विद्यानाथ 
कोइराला, शिक्षाविद्
पढ्ने नाममा गए पनि २–४ प्रतिशतबाहेक सबै पैसा बचाउन जाने हुन् । नेपालीले विदेशमा धेरै कमाउन सक्दैनन्, तर कमाएकोमध्ये थोरै बचाउँदा पनि नेपालमा धेरै हुन्छ ।

विदेश पढ्ने कुरालाई इज्जतसँग पनि जोड्ने गरेको पाइन्छ । विदेश पढेपछि विशेष हुन्छ भन्ने सोचाइ अभिभावक र विद्यार्थीमा बढ्दो छ । 
नेपालमा नै धेरै राम्रो गर्न सकिन्छ भन्ने आशा राजनीतिक नेतृत्वले जगाउन नसकेकाले पनि विद्यार्थी बिदेसिन चाहेका हुन् ।

नेपालमा जतिखेर भर्ना हुने समय आयो त्यही वेला बन्द–हडताल हुन्छ, । त्यसपछि सबैले विदेशकै आशा जगाइदिएर विदेश लैजाने प्रयास गर्दछन् ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.