लगातारको वर्षाले जनकपुर जलमग्न

एम के मैथिल धनुषा, २८ साउन । बुधबार रातिदेखि परिरहेको वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

लगातारको भारी वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको हो ।

जनकपुर मिथिलाको प्राचीन एवं ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । हाल एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजना काम सुस्तगतिमा भइरहेका कारण नालामा पानीको निकास नहुँदा राष्ट्रिय समाचार समिति, हुलाक, मालापोत, नापी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषालगायतका सरकारी कार्यालय र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ ।

लगातार १४ घण्टा भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ । सम्बन्धित निकायले ध्यान नदिएका कारण जनकपुर फोहोरले भरिएको छ । जनकपुरको मुख्य समस्या समाधानका लागि एसियाली विकास बैंक र स्थानीय लगानीमा एकीकृत सहरी विकास आयोजना लागू भएको छ । जनकपुरवासी त्यो योजना लागू भई अनुहार फेरिने प्रतिक्षामा छन् ।

Share on Google Plus

About एम.के.मैथिल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.