मुलुकमा बाढीपहिरो र महिलामाथिको हिंसाका घटना बारम्बार भएकोप्रति गम्भीरतापूर्वक चासो

 गृहमन्त्री जनार्दन शर्माले मुलुकमा बाढीपहिरो र महिलामाथिको हिंसाका घटना बारम्बार भएकोप्रति गम्भीरतापूर्वक चासो र चिन्ता लिएको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्मा समय माग गरेर बौल्दै उहाँले बर्खाको समयमा बाढी पहिरोमा परेका पीडित र देशका विभिन्न स्थानमा महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
गृहमन्त्री शर्माले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोका कारण भयावह स्थिति सिर्जना भएको र बाढीले क्षति पु¥याएका पीडितलाई सहयोग गर्न विपद् व्यवस्थापनको बैठक बसी काम गरिरहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय परिचयपत्रमा आमा नाम छुटाइएको भन्ने विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘राष्ट्रिय परिचयपत्रमा आमाको मात्र होइन, हजुरआमाको नाम पनि राखिएको छ ।’ परिचयपत्र नेपाली र अंगे्रजी दुवै भाषामा बनाएको उहाँले जानकारी दिनुभयो ।
गृहमन्त्री शर्माले देशका विभिन्न जिल्लामा महिला हिंसाका घटना भइरहेकोप्रति निकै मर्माहत भएको उल्लेख गर्दै भन्नुभयो –‘महिलामाथिको हिंसा भत्र्सना गर्नेखालको मात्र नभई, मानव सभ्यताको कलंकका रुपमा रहेको छ, यस्ता मानवताविरोधी अपराध अनुसन्धान गरी कारबाही हुन्छ ।’
महिलामाथि हुने हिंसा रोक्नका लागि अपराध अनुसन्धान र सजाय हुँदाहुँदै पनि यस्ता घटना नरोकिएको भन्दै उहाँले भोजपुर, खोटाड बाँकेलगायत जिल्लामा घटेका घटनाका दोषीलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले महिलामाथि हुने हिंसा रोक्नका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारमा समेत छुट्टै महिला डेस्क स्थापना गर्न जरुरी देखिएको हुनाले त्यो काम गर्ने तयारी भइरहेको बताउनुभयो ।
दाइजोका नाममा जिउँदै जलाइनु, आफ्नै पतिबाट श्रीमतीको हत्या हुनु, बालिका बलात्कारजस्ता जघन्य अपराधका घटना बढ्दै गएकाले त्यसलाई रोक्न कडाभन्दा कडा कानुन बनाउन व्यवस्थापिका–संसद्अन्तर्गतका समितिलाई समेत उहाँले आग्रह गर्नुभयो ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.